पटेर्वा सुगौली गाउँपालिकामा एसईई २०८२ मा उत्तीर्ण भएका ६७ जना विद्यार्थीलाई सम्मान गरिएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष दिनेश चौधरी को अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा सामाजिक विकास संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष विजय गैरे, वडा नं. ४ का वडा अध्यक्ष बासु पंजियार, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, कार्यपालिका सदस्य शिवबालक ठाकुर, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा शिक्षाको गुणस्तर सुधारका लागि थप प्रभावकारी योजना ल्याउने बताउनुभयो । उहाँले कठिन परिस्थिति र सीमित स्रोतसाधनका बाबजुद उत्कृष्ट नतिजा ल्याएर गाउँपालिकाको नाम उच्च बनाउने विद्यार्थीहरू सम्पूर्ण पालिकाकै गौरव भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “आज सम्मानित भएका विद्यार्थीहरू केवल आफ्नो परिवारको मात्र नभई सम्पूर्ण पालिकाको आशा र भरोसाका केन्द्र हुन् । आगामी दिनमा अझै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढेर समाज र देशको विकासमा योगदान दिनुपर्छ ।”
एसईई २०८२ मा गाउँपालिका स्तरमा प्रथम हुने इफराहुल हक आलमले ३.५६ GPA प्राप्त गरेका छन् भने द्वितीय निरञ्जन राउत थारुले ३.४१ GPA र तृतीय मेनुका कुमारीले ३.३९ GPA हासिल गरेकी छन् । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई गाउँपालिकाले सम्मानपत्रसहित सम्मान गरेको थियो ।
त्यसैगरी विद्यार्थीहरूलाई सफल बनाउन विशेष योगदान पुर्याउने तीन जना शिक्षकलाई समेत गाउँपालिकाले सम्मानित गरेको थियो । कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमले विद्यार्थीमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।




COMMENTS