काठमाडौं, १७ जेठ/
दलित तथा सीमान्तकृत समुदायको शिक्षा, मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका सामाजिक अभियन्ता मनोज राम सम्मानित भएका छन्।
रण अम्बिका शाह सेवा गुठी–नेपालले आफ्नो तेस्रो वार्षिकोत्सव तथा रण–अम्बिका सेवा पुरस्कार एवं सेवा सहयोग समर्पण समारोहका अवसरमा मनोज रामलाई नगद ५० हजार रुपैयाँसहित ‘रण अम्बिका शाह सेवा सहयोग–२०८३’ प्रदान गर्दै सम्मान गरेको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगीको अध्यक्षता तथा पूर्व राजदूत प्रा. डा. जयराज आचार्यको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कारसहित रामलाई सम्मान गरिएको थियो।
मनोज रामले दलित तथा विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार, निःशुल्क ट्युसन कक्षा सञ्चालन, शैक्षिक सामग्री वितरण तथा सामाजिक सचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।
सम्मानपछि प्रतिक्रिया दिँदै रामले उक्त सम्मान सम्पूर्ण दलित तथा सीमान्तकृत समुदायको संघर्षको सम्मान भएको बताएका छन्। गुठीले सामाजिक न्याय, शिक्षा र समाज रूपान्तरणमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको जनाएको छ।


COMMENTS