बिरूवागुठी / २८ बैशाख
ठाेरी गाउँपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले आफ्नो बसोबासको समस्याको उचित समाधानको माग गर्दै ठोरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। पछिल्लो समय आफुहरुलाई विस्थापित गर्न खोजिएको भन्दै स्थानीय सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरी समस्याको स्थायी समाधान गर्नुपर्ने माग उनीहरुले गरेका हुन्।
“सुकुम्बासीको उचित व्यवस्थापन गर!” भन्ने प्लेकार्डसहित गाउँपालिका पुगेका स्थानीयहरुले जनप्रतिनिधिहरुसँग आफ्ना समस्या तथा चिन्ताका विषयहरु राखेका थिए। उनीहरुले वास्तविक सुकुम्बासीहरुको संरक्षण र व्यवस्थापनका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले वास्तविक सुकुम्बासीहरुले कुनै चिन्ता गर्न नपर्ने बताउनुभयो। उहाँले स्थानीय सरकारले सुकुम्बासीहरुको उचित व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै बाहिर फैलाइएका हल्लाहरुबाट आतंकित नहुन आग्रह गर्नुभयो। अध्यक्ष श्रेष्ठले ठोरी गाउँपालिका सधैं जनताको पक्षमा रहेको समेत उल्लेख गर्नुभयो।
कार्यक्रममा वडाध्यक्षहरु अषठबहादुर लाेपचन, अमृतकृषण सापकाेटा, मानबहादुर थिंग तथा गाउँपालिका उपाध्यक्ष गाेकुली कुमारी रेग्मीले समेत आ-आफ्नो धारणा राख्दै स्थानीयहरुको समस्या समाधानमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने बताएका थिए।
ज्ञापनपत्रको मर्मलाई गम्भीरतापूर्वक लिएको बताउँदै अध्यक्ष श्रेष्ठले छिट्टै कार्यपालिका बैठक आह्वान गरी आवश्यक तथा उचित निर्णय गरिने जानकारी दिनुभयो।



COMMENTS