बलिराम शुक्ला, बिरुवागुठी
पर्सा जिल्लाको ग्रामीण भेग हुँदै जाने प्रमुख सडक जीतपुर–बडनिहार–मनवा–रङ्गपुर जनता सडक ठाउँ–ठाउँमा कालोपत्र भत्किएर जर्जर बनेको छ । करीब एक दशक अघि विश्व बैंकको आर्थिक सहयोगमा पप्पु कन्स्ट्रक्शनले निर्माण गरेको यो १७ किलोमिटर लामो सडक अहिले दर्जनौं स्थानमा खाडल बनेर बिग्रिएको छ, जसले स्थानीयको दैनिक आवतजावतमा गम्भीर समस्या सिर्जना गरेको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार सडकको बिग्रिएको अवस्थाले सवारीसाधन सञ्चालनमा कठिनाइ मात्र नभई दुर्घटनाको जोखिम पनि उल्लेखनीयरूपमा बढाएको छ । पर्सागढी नगरपालिका–३ का स्थानीय भरत गुरुङले व्यस्त यो सडकको समयमैं मर्मत नहुँदा जनजीवन प्रभावित भएको बताए । उनका अनुसार, सडकमा भएका ठूला–ठूला खाडलका कारण सवारीसाधन बारम्बार बिग्रिने र दुर्घटना हुने अवस्था बढिरहेको छ । सम्बन्धित निकायले चासो नदिए अवस्था अझ भयावह बन्न सक्छ ।
स्थानीयहरूले सडक विभाग र सम्बन्धित निकायको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार वर्षौंदेखि सडक मर्मत नहुँदा जनताले सास्ती भोग्नुपरेको छ भने एम्बुलेन्स, सार्वजनिक यातायात र निजी सवारीसाधनसमेत जोखिममा पर्ने गरेका छन् ।
विश्व बैंकको सहयोगमा करीब १७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो सडक पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने महŒवपूर्ण मार्ग मानिन्छ । तर निर्माणको छोटो अवधिमैं सडक भत्किन थालेपछि यसको गुणस्तरमाथि पनि प्रश्न उठ्न थालेको छ ।
स्थानीयवासीहरूले तत्काल मरम्मत र पुनर्निर्माणको माग गरेका छन् । यदि समयमैं मरम्मत र पुनर्निर्माण नगरिए दुर्घटना र जनधनको क्षति बढ्न सक्ने जनाएका छन् ।



COMMENTS