पर्सा, पोखरिया - डिभिजन वन कार्यालय पर्सा र साझेदारी वन उपभोक्ता समूहको मिलेमतोमा जङ्गलभित्रै अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको समाचार सञ्चार माध्यममा सार्वजनिक गरेपछि सम्बन्धित निकायले उक्त कार्यमा रोक लगाएको छ । विभिन्न सञ्चारमा प्रकाशित समाचारपछि डिभिजन वन कार्यालय, पर्साले आइतवारदेखि उत्खनन कार्य बन्द गराएको हो । यसै विषयमा सोमवार गादीमाई साझेदारी वन उपभोक्ता समूहले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा समूहका अध्यक्ष सहरुम राउत गद्दीले करीब १० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको फायरलाइनका लागि ठेक्का परेको खोलाबाट ग्राभेल निकालिएको दाबी गरे । उनका अनुसार सो सामग्री फायरलाइन निर्माणका लागि आवश्यक भएकोले प्रयोग गरिएको हो । तर उक्त कार्यको जिम्मा लिएको गोलु कन्स्ट्रक्शनका सञ्चालकले भने सो दाबीलाई पुष्टि गर्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न सकेनन् ।
कन्स्ट्रक्शन पक्षले दुई सय टिप ग्राभेल प्रयोग गरिएको र प्रतिटिप सात सय रुपैयाँको दरले रसिद काटिएको बताए पनि पत्रकार सम्मेलनमा २५ टिपको मात्र रसिद देखाइएको थियो । बाँकी करीब १७५ टिपको रसिद घरमा रहेको दाबी गरिए पनि तत्काल प्रमाण प्रस्तुत गर्न नसक्दा अनियमितताको आशङ्का थप बलियो बनेको छ ।
वनशक्तिमाई मन्दिर क्षेत्रदेखि वसन्तपुर सबडिभिजन वन कार्यालयसम्मको फायरलाइन मार्ग मर्मत तथा ग्राभेलका नाममा खोलाबाट अवैधरूपमा सामग्री निकालिएको आरोप यस अघि नै लागेको थियो । समाचार स्रोतका अनुसार एक्साभेटर प्रयोग गरी एक दर्जनभन्दा बढी ट्याक्टरमार्फत नदीजन्य पदार्थ उत्खनन गरी सडकमा खसाल्ने काम भइरहेको थियो, जुन प्रचलित कानूनविपरीत हो ।
विशेषज्ञहरूका अनुसार खोलाबाट एक्साभेटरजस्ता भारी मेशीन प्रयोग गरी उत्खनन गर्नु पूर्णरूपमा निषेधित छ । यद्यपि सम्बन्धित निकायकै संलग्नतामा यस्तो कार्य भइरहेको स्थानीय आरोपपछि डिभिजन वन कार्यालयले कडाइ गरेको हो ।
पत्रकार सम्मेलनमार्फत अध्यक्ष गद्दीले कन्स्ट्रक्शन पक्षको बचाउ गर्ने प्रयास गरे पनि ठोस प्रमाण अभावका कारण अनियमितता भएको सङ्केत स्पष्ट देखिएको छ । यस घटनाले स्थानीयस्तरमा वन स्रोतको दुरुपयोग र निगरानीको कमजोरीप्रति गम्भीर प्रश्न उठाएको छ ।

COMMENTS