बलिराम शुक्ला , पर्सागढि पर्सा जिल्लाको राष्ट्रिय वन क्षेत्रनजीक रहेका मानवबस्तीहरूमा डढेलो र कृषकहरूले गहुँ काटिसकेपछि ख...
बलिराम शुक्ला , पर्सागढि
पर्सा जिल्लाको राष्ट्रिय वन क्षेत्रनजीक रहेका मानवबस्तीहरूमा डढेलो र कृषकहरूले गहुँ काटिसकेपछि खेतका छवाली जलाउने परम्पराका कारण उत्पन्न भएको बाक्लो तुवाँलोले स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । बिहानको समयमा विशेषगरी देखिने यो धूवाँयुक्त तुवाँलोले पर्सागढी, सखुवाप्रसौनी, पटेर्वासुगौली तथा वीरगंज महानगरपालिका अन्तर्गतका वनसँग जोडिएका बस्तीहरूमा जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।
वनमा लागेको डढेलो र खेतमा जलाइने छवालीबाट निस्किएको विषाक्त धूवाँका कारण वातावरणीय प्रदूषण बढ्दै गएको छ । यसको प्रत्यक्ष असर मानिसहरूको स्वास्थ्यमा देखिएको छ । स्थानीयका अनुसार आँखा पोल्ने, चिलाउने, रातो हुने तथा पाक्ने समस्या बढिरहेको छ । त्यस्तै, दम तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग भएका बिरामीहरूलाई अझ बढी समस्या भइरहेको छ । यद्यपि यसपटक भने गत वर्षको तुलनामा वन डढेलो देखिएको छैन तर गहुँको छवाली जलाउने गरिएकोले त्यसबाट उत्पन्न तुवाँलोका कारण बिहानको समयमा बाहिर निस्कनसमेत कठिनाइ हुने गरेको स्थानीयले बताएका छन् ।
पर्सागढी नगरपालिका–३ बडनिहारका स्थानीय सुशील पौडेलका अनुसार वन डढेलो र खेतमा छवाली जलाउने अभ्यासले वायु प्रदूषण अत्यधिक बढाएको छ । यसले विशेषगरी दीर्घ श्वासप्रश्वास रोगीहरूमा समस्या बढाउनुका साथै सामान्य मानिसमा पनि आँखासम्बन्धी समस्या देखिएको छ । मोटरसाइकल तथा साइकल चलाउने क्रममा आँखा पोल्ने, पानी बग्ने जस्ता समस्या देखिंदा दैनिक आवागमनसमेत प्रभावित भएको उनले बताए ।
बडनिहार आँखा तथा दन्त अस्पतालका सञ्चालक जीतेन्द्रकुमार गिरीका अनुसार गर्मी र सुक्खा मौसमसँगै वन डढेलोका कारण उत्पन्न तुवाँलोले आँखासम्बन्धी समस्या तीव्ररूपमा बढाउने गर्छ । उनका अनुसार धेरैजसो बिरामीमा आँखा पोल्ने, चिलाउने र रातो हुने लक्षण देखिएका छन् ।
स्वास्थ्य सम्बन्धित जानकारले बिहानको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनुपरे चश्मा प्रयोग गर्न, आँखामा नियमित सफा पानी छर्कन तथा समस्या बढेमा आँखा विशेषज्ञसँग परामर्श लिन सुझाव दिएका छन् ।


COMMENTS