पोखरिया / पर्साको जगन्नाथपुर गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले करिब २१२ किल...
पोखरिया / पर्साको जगन्नाथपुर गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले करिब २१२ किलो (दुई क्विन्टल १२ किलो) गाँजा र एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षा क्षेत्रबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले निगरानी बढाएको थियो।
तस्करहरूले मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टरमा गाँजा लोड गरी लैजाँदै गर्दा प्रहरीले पटेर्वा सुगौलीदेखि जगन्नाथपुरसम्म पछ्याएको थियो। प्रहरीले राति करिब ११:३० बजे जगन्नाथपुर–४ को सरेह बाटोमा ट्याक्टर रोकेर जाँच गर्न खोज्दा चालकसहित तस्करहरू ट्याक्टर छाडेर फरार भएका हुन्।
प्रहरीका अनुसार बरामद गाँजा सोनवर्षा क्षेत्रका तीन जना कुख्यात कारोबारीको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार बरामद गाँजा र ट्याक्टर नियन्त्रणमा लिइएको छ भने फरार चालक र संलग्न तस्करहरूको पहिचान गरी खोजी तथा थप अनुसन्धान तीव्र पारिएको छ।

COMMENTS