गर्भवती महिलाहरूलाई प्रदान गरिने सेवासुविधाबाट वञ्चित
धर्मेन्द्र चौरसिया, पोखरिया, २१ माघ/
सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई प्रसूति गराउनका लागि श्रव्य, औषधि, चेकजाँचलगायतका सेवाहरूको निश्शुल्क व्यवस्था गरेको छ । तर प्रादेशिक अस्पताल पोखरियामा यी सेवाहरू सशुल्क लिनुपरेको गर्भवती महिलाहरूले गुनासो गरेका छन् ।
अस्पतालमा भर्ना भएर सेवा लिएका सुत्केरी महिलाहरूले अस्पतालले श्रव्याबापतको शुल्क नलिएको तर औषधिबापतको रकम र सुत्केरी महिलालाई दिनुपर्ने एक हजार प्रसूति प्रोत्साहन भत्ता भने नदिने गरेको गुनासो गरेका छन् ।
सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्रसूति हुन आउने गर्भवती महिलाहरूको हकमा सामान्यका लागि दुई हजार पाँच सय, जटिलका लागि चार हजार र शल्यक्रिया गर्नुपर्नेको हकमा १० हजार दररेट कायम गरेर सोबापतको रकम अस्पतालमा पठाउने गरेको छ ।
प्रादेशिक अस्पताल पोखरियामा गत पुस महीनामा ८५ जना गर्भवती महिलाको सामान्य प्रसूति गरिएको र नौजना गर्भवती महिलाको शल्यक्रिया गरिएको अस्पतालले तथ्याङ्क उपलब्ध गराएको छ । तर सेवा लिन आउने गर्भवती महिलाहरूले अस्पतालबाट औषधि र प्रोत्साहन भत्ता नपाइरहेको गुनासो गरेका छन् ।
गर्भवती महिलाहरूले सामान्य प्रसूति वा शल्यक्रिया गर्नुपर्दा आफ्नै खर्चमा औषधिबापतको रकम तिर्ने गरेको बताए । त्यस्तै, आमा सुरक्षा कार्यक्रम अन्तर्गत पाउनुपर्ने एक हजार प्रसूति प्रोत्साहन भत्ता पनि नपाएको दुःखेसो पोखेका छन् ।
अस्पतालले सामान्य प्रसूति हुने महिलासँग एक हजार रुपैयाँमुनिको औषधि र शल्यक्रियाबाट प्रसूति गराउनेहरूसँग १० हजार रुपैयाँसम्मको औषधि खरीद गराउने गरेको गुनासो छ । जबकि सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत अस्पतालमा गर्भवती महिलाहरूको सामान्य चेकजाँचदेखि प्रसूति नहुन्जेलसम्मको सम्पूर्ण खर्च निश्शुल्क हुने व्यवस्था गरेको छ ।
अस्पताललाई सोबापतको रकम चौमासिकरूपमा प्राप्त हुने गर्छ । तर अस्पतालले भने खर्च बिरामीसँग गराउने र प्रोत्साहन भत्ता पनि चार महीनामा लिन आउन सुत्केरी महिलाहरूलाई भन्ने गरेको छ । सुत्केरी महिलाहरूमध्ये थोरैले मात्र चार महीनामा प्रोत्साहन भत्ता पाउने गरेको अस्पताल स्रोतले जनाएको छ ।
कतिपयले बिर्सने, कतिपयसँग प्रमाण अभाव हुने कारणले प्रसूति प्रोत्साहन भत्तामा अनियमितता हुने गरेको सेवाग्राहीहरूको गुनासो छ । प्रसूति भएर अस्पतालबाट डिस्चार्ज हुने बखतमा आवश्यक कागजसहित अस्पतालले सोही समयमा सो भत्ता उपलब्ध गराउनुपर्ने हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आनन्द रौनियार चौमासिकरूपमा सरकारले रकम पठाउने गरेको कारण बेलाबखत समस्या हुने गरेको बताउँछन् । उनले अहिले बजेट अभावले प्रसूति गराउन आउने महिलाहरूले आफैं औषधिमूलोमा खर्च गर्नुपरिरहेको बताए ।
उनले औषधि खरीद गर्न सक्ने सामथ्र्य भएकाहरूसँग औषधि खरीद गराएर सामथ्र्य नभएका गरीबहरूलाई सेवा दिने गरेको दाबी गरे । उनले चौमासिकरूपमा प्रसूति प्रोत्साहन भत्ता वितरण भइरहेको बताए ।- साभार प्रतिक दैनिक


COMMENTS