बलिराम शुक्ला, बिरुवागुठी, १ फागुन/ पर्सा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा पुराना उम्मेदवारहरूसँग...
बलिराम शुक्ला, बिरुवागुठी, १ फागुन/
पर्सा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा पुराना उम्मेदवारहरूसँग नयाँ उम्मेदवारको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनाव हुन अब २० दिन बाँकी छ । यो क्षेत्रमा विगतको इतिहास हेर्ने हो भने २०५१ सालदेखि तत्कालीन सद्भावना पार्टीबाट नेपाली काङ्ग्रेसको राजनीतिक यात्रा थालेका अजयकुमार चौरसिया अहिलेसमेत गरेर छैटौंपटक चुनावी मैदानमा छन् ।
चौरसियाले २०५६, २०६४, २०७०, २०७४, २०७९ मा चुनाव लडेमा २०७० र २०७४ मा गरी दुईपटक पराजित र तीनपटक जितेका छन् । २०५६ मा चुनाव जितेपछि उनी पहिलोपटक सहायक मन्त्री बनेका थिए भने २०७९ को चुनाव जितेपछि ओली सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए ।
चौरसिया राजनीतिका पुराना चतुर तथा अनुभवी नेता मानिन्छन् ।
यसैगरी, नेकपा एमालेबाट पहिलोपटक यस क्षेत्रबाट नयाँ अनुहार रीमाकुमारी यादव चुनावी मैदानमा छिन् । आफूलाई जेनजीको उम्मेदवारको रूपमा परिचय दिने रीमा यस अघि घरेलु महिलाको रूपमा जीवन निर्वाह गर्दै आएकी थिइन् ।
हरि खेतान बहुमुखी क्याम्पसबाट स्नातक गरेकी रीमालाई एमालेले एकैपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनाएको हो । भनिन्छ, एमालेले पूर्वनगरप्रमुख विजयकुमार सरावगीलाई यो क्षेत्रबाट उम्मेदवार बनाइरहेको थियो । तर उनी उम्मेदवार हुन नमानेपछि उनलाई नै उम्मेदवार उठाउन जिम्मेवारी सुम्पिएको थियो र उनले नै रीमालाई चुनावी मैदानमा खडा गरेका हुन् ।
त्यसैले रीमाले आफ्नो चुनाव प्रचारका सामग्रीमा एकातर्फ सरावगी र अर्काेतर्फ विचारी यादवको तस्वीर लगाउँछिन् । यो क्षेत्रबाट लगातार दुईपटकको चुनावमा एमालेले गठबन्धन दलका उम्मेदवारलाई सघाउँदै आएको थियो । यसपटक भने आफ्नै उम्मेदवार खडा गरेको छ ।
यसैगरी, यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुशीलकुमार कानू चुनावी मैदानमा छन् । वीरगंज महानगरपालिका–१० का अध्यक्ष कानू सो पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् ।
यस अघि जसपा नेपालमा रहेका उनी यो चुनावमा रास्वपाको उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा छन् । उनले आफूलाई जेनजीको प्रतिनिधि दाबी गर्दै परिवर्तनको पक्षमा मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गर्दै आएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट उद्योगपति अशोक टेमानी चुनावी मैदानमा छन् । मारवाडी समुदायबाट टेमानी उम्मेदवार हुने भएपछि यो क्षेत्रबाट सरावगीले एमालेले दिएको टिकट अस्वीकार गरेको चर्चा पनि छ ।
टेमानी वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य सङ्घका सदस्य र हाल नेउवासङ्घ मधेस प्रदेशका अध्यक्ष हुन् । मधेस आन्दोलनपछि जसपा नेपालसँग सामीप्यता बढाउँदै आएका उनले यसपटक प्रतिनिधिसभा सदस्यका लागि टिकट सुरक्षित पारेर चुनावी मैदानमा होमिएका हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभ बच्चन दास तत्मा उम्मेदवार छन् । नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध उनी सो पार्टीबाट टिकट नपाएपछि प्रलोपाबाट टिकट लिएर चुनावी मैदानमा छन् ।
यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीले मनोज चौधरीलाई चुनावी मैदानमा उतारेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीणा जयसवाल चुनावी मैदानमा छन् । यस अघिको चुनावमा राप्रपाले उनलाई समानुपातिक सांसद बनाएको थियो । यसपटक प्रत्यक्षको टिकट दिएर चुनावी मैदानमा खडा गरेको छ ।
वीणाका कारण जसपा नेपालबाट अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले आफ्नो उम्मेदवारी दिएनन् । नाताले बुहारी पर्ने वीणासँग एकै घरबाट उम्मेदवारी नदिने निर्णय कुर्मीले गरेको बताइन्छ । यस अघि जसपा नेपालबाट उम्मेदवार भएका उनी दोस्रो स्थानमा थिए ।
यसैगरी, आम जनता पार्टीले यसपालि रञ्जु साहलाई चुनावी मैदानमा खडा गरेको छ ।
यो क्षेत्रबाट अहिले विभिन्न दलबाट १७ जना र स्वतन्त्र १४ जना गरेर ३१ जना चुनावी मैदानमा छन् । तर स्वतन्त्र उम्मेदवारहरूले अहिलेसम्म आफ्नो प्रचार गरेको देखिएको छैन ।

COMMENTS