बलिराम शुक्ला , पर्सागढि नेपाली कांग्रेसका नेता तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेद...
बलिराम शुक्ला , पर्सागढि
नेपाली कांग्रेसका नेता तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार अजय कुमार चौरसियाले देशको विकास, शान्ति र लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसलाई जिताउनुको कुनै विकल्प नरहेको बताएका छन्।
खुट्टामा गम्भीर चोट लागेर अस्वस्थ रहे पनि लाठीको सहारामा चुनावी अभियानमा सक्रिय रहेका चौरसियाले शनिबार वीरगञ्ज महानगरपालिका वडा नं. २६ सुगौलीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनपछि आफ्नो क्षेत्रमा विकास निर्माणका कामले तीव्रता लिने दाबी गरे। उनले विगतमा आफूले सम्हालेको मन्त्रालयमा विकास बजेट सीमित भए पनि अन्य मन्त्रालयसँग समन्वय र पहल गरी पर्सा क्षेत्र नं. २ का लागि अधिकतम बजेट सुनिश्चित गरिएको बताए।
चौरसियाका अनुसार तिलावे नदीमा सुगौली र सिसियाडी जोड्ने पुल निर्माणका लागि गत आर्थिक वर्षमा विनियोजन गरिएको १ करोड रुपैयाँ बजेटबाट काम हुन नसकेपछि चालु आर्थिक वर्षमा बजेट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। "चुनाव लगत्तै उक्त पुलको निर्माण कार्य सुरु हुन्छ," उनले भने। यसका साथै जसौली, उदयपुरघुर्मी र बहुअरी नजिकका क्षतिग्रस्त पुलहरूको मर्मत कार्य पनि सुरु भइसकेको उनले जानकारी दिए।
उनले आफ्नै पहलमा बिन्दवासिनीमा पोलिटेक्निक कलेज सञ्चालनको तयारी भइरहेको उल्लेख गर्दै यसका लागि ३ करोड रुपैयाँ बजेट व्यवस्था भइसकेको बताए। त्यस्तै, बहुदरमाईको सातोमाईमा धर्मशाला निर्माण तथा कब्रिस्तानमा पर्खाल लगाउने कार्यका लागि पनि बजेट पास भइसकेको जनाउँदै स्थानीय विवादका कारण रोकिएका कामहरू छिट्टै सुचारु हुने विश्वास व्यक्त गरे।
कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै चौरसियाले २००७ सालदेखि हालसम्म भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताए। २०५२ सालको जनयुद्ध र त्यसपछिको अशान्त अवस्थालाई अन्त्य गरी मुलुकमा शान्ति स्थापना गर्न स्वर्गीय गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको पनि उनले स्मरण गरे।
राजाको शासनविरुद्धको आन्दोलनका क्रममा आफू चार महिना जेल बसेको उल्लेख गर्दै चौरसियाले नेपाली कांग्रेस जनताको अधिकारका लागि जेल जान र गोली थाप्न कहिल्यै नडराउने पार्टी भएको बताए। आफ्नो घरमा भएको आगजनी तथा संसद् भवनसहित राष्ट्रिय सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले ती कार्य 'जेन–जी' युवाहरूले नभई उच्छृङ्खल र सुनियोजित तत्वहरूले गरेको दाबी गरे। "मेरो घर कसले जलायो म सबैलाई चिन्छु, तर मैले कसैविरुद्ध उजुरी वा मुद्दा हालेको छैन," उनले भने। कांग्रेसले बहुमत नल्याए देशमा बाहिरी शक्ति हाबी हुने खतरा रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई जिताउन सबै शक्ति लगाउन आग्रह गरे।
वीरगञ्ज–२६ का कांग्रेस सभापति सुरेश पटेलको अध्यक्षतामा तथा पर्सा निर्वाचन क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार अजय चौरियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश सर्राफ, कांग्रेस केन्द्रीय सदस्य रामरुप कुर्मी, पर्सा कांग्रेसका उपसभापति अशोक गुप्ता, क्षेत्रीय सभापति महमद साहबुदिन, वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्रलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

COMMENTS