बारा, १४ माघ । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडमा बुधवार बिहान भएको जघन्य हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई...
बारा, १४ माघ ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडमा बुधवार बिहान भएको जघन्य हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
एकाबिहान भएको उक्त घटनामा २८ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ४६ वर्षीया सुमिन्त्रा देवीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको छ भने परिवारका अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न रहेको आरोपमा मृतक रामेश्वरकी पत्नी २३ वर्षीया मनिता देवी मण्डल र प्रसौनी गाउँपालिका–७ बन्जरिया बस्ने धमेन्द्र महतोलाई पक्राउ गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विवाहित मनिताको परपुरूषसँग प्रेम सम्बन्ध रहेकै कारण घटना घटेको अनुमान गरिएको छ। प्रहरीका अनुसार मनिताले आफ्ना प्रेमी जो मलेशियामा बस्छन् उसँग मिलेर योजनाबद्ध रूपमा यो घटना घटाएको हुनसक्ने समाचार स्रोतको अनुमान छ ।
घटनामा मनिताका ससुरा ५२ वर्षीय जगरूप महतो र नन्द २२ वर्षीया रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत थिए। उनी माघ १२ गते काठमाडौं आइपुगेका थिए । धर्मेन्द्र मनिताको प्रेमीका साथी भएको समाचार स्रोतको दावी छ । मनिताको प्रेमी छ महीनादेखि मलेसियामा छन् ।
जिल्ला प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले घटनाको मुख्य योजनाकार मनिता नै रहेको जानकारी दिएका छन । दुवै अभियुक्तलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


COMMENTS